काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा निर्वाचनमा भाग लिन लागेको चर्चा भइरहे पनि तत्काल मेयर पदबाट राजीनामा नदिने रणनीति बनाएका छन्।
उनको सचिवालयका अनुसार मनोनयन दर्ता हुने ६ गतेपछि मेयरको अधिकार स्वतः निष्क्रिय हुने भएकाले अहिले नै राजीनामा लेखिराख्ने आवश्यक नदेखिएको बताइएको छ।
बालेनले सोमबारसम्म राजीनामा दिने बताइए पनि नेपाली कांग्रेसको विभाजनपछि उत्पन्न राजनीतिक अनिश्चितताले चुनावी तालिका प्रभावित हुन सक्ने आशंकामा योजनामा परिवर्तन गरिएको बुझिएको छ।
कांग्रेसको देउवा पक्षले निर्वाचन आयोगबाट आधिकारिकता गुमेपछि सर्वोच्च अदालतमा रिट दायर गरेको छ। रिटमा अन्तरिम आदेश पर्ने सम्भावनाले परिस्थितिलाई थप पेचिलो बनाएको र यही कारण बालेनले राजीनामा रोक्ने निर्णय गरेको स्रोतले बतायो।
यसैबीच बालेन सोमबार बिहानै मेयर पद कायम राखेर रास्वपा कार्यालय पुगेका छन्। उनले आजै रास्वपाको केन्द्रीय समिति बैठकमा भाग लिनेछन् भने साँझ ५ बजे जनकपुरतर्फ चुनावी अभियानको सुरुआत गर्ने तयारीमा छन्।
उपमेयर सुनिता डंगोलको सचिवालयले बालेनले राजीनामाबारे कुनै जानकारी नगराएको प्रतिक्रिया दिएको छ।
