नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा निर्वाचन आयोगको निर्णयविरुद्ध पार्टीभित्र फरक–फरक धार देखिएको छ । आयोगको निर्णयविरुद्ध देउवा पक्षका नेताहरू सर्वोच्च अदालत पुगेका छन् भने नेता डा. शेखर कोइराला र उनीनिकट समूह अदालत नगएको खुलेको छ ।
देउवा पक्षका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित विमलेन्द्र निधि, मीनबहादुर विश्वकर्मालगायत नेताहरूले निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । आयोगको निर्णयका कारण नेपाली कांग्रेसको दुईतिहाइ शक्ति पार्टीविहीन हुनसक्ने र आगामी निर्वाचनमा सहभागी हुनबाटै वञ्चित हुने अवस्था आउन सक्ने उनीहरूको दाबी छ ।
तर शेखर कोइराला पक्ष भने अदालत नगई आफ्नै राजनीतिक रणनीतिमा अघि बढेको देखिएको छ । कोइराला पक्षले आफू निकटका नेताहरूलाई छलफलका लागि छुट्टै भेला बोलाएको छ । पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गर्न डा. कोइरालाले दिउँसो १ बजे बैठक आह्वान गरेका हुन् ।
हिजो बिहान आफ्ना निकट नेताहरूसँगको छलफलमा डा. कोइरालाले आफूहरू विपक्षमा उभिएकाले अदालतमार्फत नै न्याय खोज्ने बताएका थिए । तर आज उनीसहित उनका निकट नेताहरू सर्वोच्च अदालतमा उपस्थित नभएपछि कांग्रेसभित्रको विवादले नयाँ मोड लिएको देखिएको छ ।
यस घटनाले कांग्रेसको आन्तरिक विवाद थप जटिल बन्दै गएको र आगामी दिनमा पार्टीभित्रको शक्ति सन्तुलन कता मोडिन्छ भन्ने चासो बढाएको छ ।
