घरेलु मैदानमा आजबाट सुरु भएको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगितामा नेपालले पराजयबाट यात्रा थालेको छ । त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान भएको खेलमा नेपाल थाइल्यान्डसँग ८ विकेटले पराजित भयो ।
नेपालले दिएको १२३ रनको लक्ष्य थाइल्यान्डले १६ ओभर ५ बलमै २ विकेटको क्षतिमा पूरा गर्यो । थाइल्यान्डको जितमा नथाकन चन्थमले अविजित ५७ रनको महत्वपूर्ण योगदान दिइन् । बलिङतर्फ नेपालकी सीता रानामगरले २ विकेट हात पारिन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल २० ओभरमा १२२ रनमै समेटियो । नेपालका लागि ओपनर बिन्दु रावलले सर्वाधिक ४४ रन बनाइन् । थाइल्यान्डकी थिपात्चा पुथावङवले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिइन् ।
घरेलु समर्थकको साथ हुँदाहुँदै पनि नेपालले अपेक्षित प्रदर्शन गर्न नसक्दा प्रतियोगिताको पहिलो खेलमै हार बेहोर्नु परेको हो ।
