काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले आज मेयर पदबाट राजीनामा दिने भएका छन् । राजीनामा दिएपछि उनी दिउँसो २ बजे बस्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठकमा सहभागी हुने कार्यक्रम तय भएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउन रास्वपाको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार बैठक दिउँसो २ बजेका लागि बोलाइएको हो ।
महामन्त्री बुर्लाकोटीले भने, “प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज पनि केन्द्रीय समिति बैठक बस्दैछ । आजको बैठकमा काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर वरिष्ठ नेता बालेन शाह पनि सहभागी हुनुहुनेछ ।”
२०७९ सालको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौं महानगरपालिकाको मेयर निर्वाचित भएका बालेन शाह यसपटक प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने भएका छन् ।
केन्द्रीय समिति बैठकपछि रास्वपाका सभापति रवि लामिछाने र बालेन शाह आजै जनकपुर जाने कार्यक्रम रहेको पार्टी स्रोतले जनाएको छ ।
बालेनको राजीनामा र प्रतिनिधिसभा उम्मेदवारीले काठमाडौं महानगर र राष्ट्रिय राजनीतिमा नयाँ तरंग ल्याउने अपेक्षा गरिएको छ ।
