काठमाडौं । नेकपा एमालेले मधेश प्रदेश सरकारका दुई पूर्वमुख्यमन्त्रीलाई प्रतिनिधिसभा सदस्यका उम्मेदवारका रूपमा अघि सारेको छ ।
एमाले संसदीय दलका नेता तथा कात्तिक २३ गते मुख्यमन्त्री बनेका सरोज कुमार यादव महोत्तरी–४ बाट प्रतिनिधिसभा उम्मेदवार बनेका छन् । यादवले २२ दिनमै अल्पमतमा परेपछि प्रदेश सरकार छाडेका थिए । उनको नाम महोत्तरी–४ बाट एकल सिफारिसमा परेको थियो ।
त्यस्तै, सप्तरी–२ बाट पूर्वमुख्यमन्त्री सतिश कुमार सिंहलाई प्रतिनिधिसभा उम्मेदवार बनाइएको छ । सिंह जनमत पार्टीबाट मुख्यमन्त्री बनेका थिए भने उनी संसदीय दलका नेता समेत थिएनन् ।
भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनका क्रममा सिंहले सामाजिक सञ्जाल फेसबुकमार्फत राजीनामा दिएको घोषणा गरेका थिए । तर पछि राजीनामा नदिने बताएपछि जनमत पार्टीभित्र विवाद चर्किएको थियो । विवाद बढ्दै गएपछि पार्टीले उनलाई सरकारबाट फिर्ता बोलाएको थियो ।
सिंह मुख्यमन्त्री रहँदै जनमत पार्टी प्रतिपक्षी बेञ्चमा बसेको थियो । पछि जनमत विभाजन भएर अर्को दल बनेपछि उनी त्यसतर्फ लागेका थिए । तर अदालतले पार्टी विभाजन रोकेपछि उनी असन्तुष्ट देखिएका थिए ।
लामो समय मौन बसेका सिंह एकाएक एमालेको प्रत्यक्षतर्फको उम्मेदवारमा समेटिएपछि मधेश प्रदेशको राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ ।
