राष्ट्रिय सभाको १९औं अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएपछि यसपटक अधिवेशन सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा सञ्चालन गरिने भएको हो ।
आजको पहिलो बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
अधिवेशनको तयारीस्वरूप राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका थिए । पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्र पढेर सुनाउनेछन् । साथै, हालै निधन भएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।
संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार अधिवेशन सञ्चालनका सबै तयारी पूरा भइसकेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को गत पुस २८ गतेको सिफारिसमा आज माघ ४ गते आइतबार बिहान ११ बजेका लागि राष्ट्रियसभाको अधिवेशन आह्वान गरेका हुन् । यसअघि राष्ट्रियसभाको १८औं अधिवेशन गत भदौ ३१ गते अन्त्य भएको थियो ।
यसैबीच, निर्वाचन आयोगले यही माघ ११ गते राष्ट्रियसभाका १९ सदस्यका लागि निर्वाचनको तयारीसमेत गरिरहेको जनाएको छ । आयोगका अनुसार एक जना सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् ।
प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको तथा राष्ट्रियसभामा नयाँ सदस्यहरू निर्वाचित भएर आउने क्रममा रहेको अवस्थामा यो अधिवेशनलाई विशेष महत्वका साथ हेरिएको छ ।
