गुल्मी, ४ माघ । गुल्मी जिल्लामा निर्वाचन सुरक्षाका लागि माग गरिएको संख्याभन्दा कम निर्वाचन प्रहरीको आवेदन परेको छ । दुई दिन म्याद थप्दासमेत आवश्यक जनशक्ति पूरा हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रारम्भिक रूपमा निर्वाचन प्रहरीका लागि आवेदन दिने म्याद माघ १ गतेसम्म तोकिएको थियो । तर, सो अवधिमा पर्याप्त आवेदन नपरेपछि जिल्ला प्रशासन तथा सुरक्षा निकायले म्याद दुई दिन थप गरी शनिबारसम्म कायम गरेका थिए ।
म्याद थपपछि पनि मागअनुसार आवेदन नआएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार नेपाल प्रहरीअन्तर्गत निर्वाचन सुरक्षाका लागि १६९५ जना जनशक्ति माग गरिएकोमा हालसम्म १४१८ जनाको मात्र आवेदन परेको छ ।
त्यस्तै, सशस्त्र प्रहरी बलअन्तर्गत १७९ जना माग गरिएकोमा १५५ जनाले मात्रै आवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) नारायणप्रसाद अधिकारीले म्याद थप्दा पनि आवश्यक संख्यामा जनशक्ति जुट्न नसकेको बताए । उनका अनुसार अब थप विकल्प र व्यवस्थापनका विषयमा माथिल्लो निकायसँग समन्वय भइरहेको छ ।
यता, जिल्लामा २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै निर्वाचन सुरक्षालाई व्यवस्थित बनाउन आवश्यक तयारी तीव्र पारिएको छ ।
