काठमाडौं, ४ माघ । नेकपा एमालेले आज काठमाडौंमा जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने भएको छ । बागमती प्रदेश कमिटीको आयोजनामा दिउँसो काठमाडौंको भृकुटीमण्डपमा निर्वाचनकेन्द्रित जनप्रदर्शन गरिनेछ ।
प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुंगेलका अनुसार भृकुटीमण्डपबाट सुरु हुने जनप्रदर्शन प्रज्ञाभवन, कमलादीमा पुगेर जनसभामा परिणत हुनेछ । मध्यान्ह १२ बजेदेखि सुरु हुने कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै एमालेले विशेष चुनावी अभियानको औपचारिक थालनीस्वरूप यो प्रदर्शन आयोजना गर्न लागेको जनाएको छ ।
एमालेले अधिकांश निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका उम्मेदवार टुंग्याइसकेको छ भने केही क्षेत्रमा मात्र उम्मेदवारी टुंगो लगाउन बाँकी रहेको पार्टीले जनाएको छ ।
आजको जनप्रदर्शन र सभाले आगामी निर्वाचनमा पार्टीको रणनीति, सन्देश र संगठनात्मक शक्ति प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।
