काठमाडौं । नेकपा एमाले केन्द्रीय निर्वाचन कमिटी सदस्य खुमाकान्त पौडेलले पार्टी परित्याग गरेका छन्। रुपन्देही क्षेत्र नम्बर–२ अन्तर्गत तिलोत्तमा नगरपालिका–३ का बासिन्दा पौडेलले पार्टी जिल्ला अध्यक्ष यज्ञ गैरेलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन्।
पार्टी परित्यागको कारणबारे जारी विज्ञप्तिमा पौडेलले पछिल्लो समय पार्टीभित्र अधिनायकवाद, नातावाद, खोक्रो राष्ट्रवाद, भ्रष्टाचार, गाली–बेइज्जतीको संस्कृति, मोलाहिजा र गुटगत मनोवृत्ति हाबी भएको आरोप लगाएका छन्। यस्ता प्रवृत्तिसँग आफू सहमत हुन नसकेकाले पार्टी छाड्ने निर्णय गरेको उनको भनाइ छ।
पौडेलले पार्टी परित्याग गरेपछि स्वतन्त्र रूपमा रहने बताएका छन्। उनी एमाले नेता लिला गिरी प्रदेशको मुख्यमन्त्री रहँदा प्रदेश सरकारका मुख्य न्यायाधिवक्ता नियुक्त भएका थिए। साथै, एमाले सरकारकै पालामा उनी कानुन आयोगको सदस्यसमेत रहेका थिए।
यसअघि पौडेल तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ रुपन्देहीका अध्यक्ष, तीन कार्यकाल एमाले रुपन्देहीका सचिवालय सदस्य तथा इलाका र क्षेत्रीय कमिटी सदस्यको जिम्मेवारीमा रहिसकेका थिए।
पार्टी परित्याग गर्दै पौडेलले आफूलाई विभिन्न सरकारी नियुक्तिमा सहयोग गरेको भन्दै एमाले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल तथा तत्कालीन मुख्यमन्त्री लिला गिरीप्रति आभारसमेत व्यक्त गरेका छन्।
