३ माघ, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता बामदेव गौतमले राष्ट्रिय सभा सदस्य पदबाट आइतबार राजीनामा दिने बताएका छन्। आगामी प्रतिनिधिसभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर–१ बाट उम्मेदवार बन्ने तयारीका कारण आफूले राजीनामा दिन लागेको उनले स्पष्ट पारेका हुन्।
शनिबार बिहान बर्दिया–१ का मतदातासँगको भेटघाटका क्रममा गौतमले उक्त जानकारी दिएका हुन्। उनले राजीनामा प्रक्रियाका लागि शनिबार नै काठमाडौं फर्किने तयारी गरेको पनि बताए।
एमालेका तत्कालीन उपाध्यक्षसमेत रहेका गौतम २०४८ सालदेखि बर्दिया–१ बाट लगातार चुनाव लड्दै आएका छन्। २०७० सालको निर्वाचनमा उनले प्यूठान–१ र बर्दिया–१ दुवै क्षेत्रबाट विजयी भएका थिए। तर, २०७२ सालको संविधानले एकभन्दा बढी क्षेत्रबाट चुनाव लड्ने व्यवस्था हटाएपछि २०७४ मा उनले बर्दिया–१ बाट मात्र चुनाव लडेका थिए, जहाँ उनी कांग्रेसका सञ्जयकुमार गौतमसँग पराजित भएका थिए।
२०७४ पछि बर्दिया–१ बाट चुनाव नलडेका गौतम अहिले पुनः सोही क्षेत्रबाट चुनावी मैदानमा उत्रिने तयारी गर्दै मतदाता भेटघाटमा सक्रिय देखिएका छन्।
गौतम २०७७ साल असोज १ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रिय सभा सदस्यमा मनोनीत भएका थिए। उनीसहित राष्ट्रिय सभाका २० सदस्यको कार्यकाल आगामी फागुन २० गते सकिँदैछ। कानुनी व्यवस्थाअनुसार कार्यकाल समाप्त हुनुभन्दा एक महिनाअघि निर्वाचन गर्नुपर्ने भएकाले आगामी माघ ११ गते राष्ट्रिय सभा सदस्यको निर्वाचन तय गरिएको छ।
