काठमाडौं । नेपालको राजनीतिक प्रणालीमा संसदीय निर्वाचनले प्रत्यक्ष रूपमा प्रधानमन्त्री चयन गर्दैन। तर, आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै दलहरूले चुनावअघि नै भावी प्रधानमन्त्रीको अनुहार सार्वजनिक गर्ने अभ्यास सुरु गरेका छन्। निर्वाचनपछि सरकारको नेतृत्व गर्ने अपेक्षासहित दलहरूले ‘लोकप्रिय अनुहार’लाई प्रधानमन्त्रीका रूपमा अघि सारेर मतदाता आकर्षित गर्ने रणनीति अपनाएका हुन्।
अहिलेसम्म दुई दलले औपचारिक र दुई दलले अनौपचारिक रूपमा प्रधानमन्त्रीका उम्मेदवार अघि सारेका छन्। अघिल्लो चुनावमा चौंथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेको छ। चुनावपछि उनलाई प्रधानमन्त्री बनाउने समझदारीसहित रास्वपामा ल्याइएको बताइए पनि त्यसका लागि पार्टीले बहुमत ल्याउनुपर्ने शर्त छ।
बालेन साह प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवारी दिने तयारीमा छन्, जुन नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो। ओली स्वयं पनि भावी प्रधानमन्त्रीका प्रमुख आकांक्षी हुन्। एमालेले औपचारिक रूपमा घोषणा नगरे पनि पार्टी सरकारको नेतृत्व गर्ने अवस्थामा ओलीको विकल्प नरहेको नेताहरूको भनाइ छ। ओलीले पनि विभिन्न सार्वजनिक कार्यक्रममा एमालेले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै आएका छन्।
रास्वपालाई काउन्टर दिन एमालेले कांग्रेससँग चुनावी समझदारीको प्रयास गरेको चर्चा भए पनि कांग्रेस विभाजनपछि त्यो योजना असफल बनेको छ। कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकता गुमाएपछि उक्त समीकरण भताभुङ्ग भएको हो। आधिकारिकता पाएका गगन थापा भने चुनावमा कसैसँग पनि गठबन्धन नगर्ने अडानमा छन्।
गगन थापा स्वयं पनि भावी प्रधानमन्त्रीका आकांक्षी मानिन्छन्। कांग्रेसभित्र नेतृत्व परिवर्तनको मागसँगै प्रधानमन्त्रीको उम्मेदवार तोकेर चुनावमा जानुपर्ने उनको धारणा रहँदै आएको छ। पार्टी एकताका लागि अघि सारिएको ८ बुँदे प्रस्तावमा ‘भावी प्रधानमन्त्री तोकेर जानुपर्ने’ उल्लेख भए पनि नाम खुलाइएको थिएन। तर, आशय गगनलाई नै अघि सार्ने रहेको नेताहरू बताउँछन्। पार्टी आधिकारिकता पाएपछि कांग्रेसले गगनलाई औपचारिक रूपमा भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गर्ने सम्भावना रहेको छ।
यता, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले भने आफूलाई स्वयं भावी प्रधानमन्त्री घोषणा गरेका छन्। श्रम संस्कृति पार्टी गठन गरेर चुनावमा होमिएका साम्पाङले चुनाव जितेरै प्रधानमन्त्री बन्ने दाबी गर्दै आएका छन्। जेनजी आन्दोलनपछि काठमाडौं आएर प्रधानमन्त्री बन्ने प्रयास असफल भएपछि उनले निर्वाचनमार्फत सत्ता पुग्ने रणनीति लिएका हुन्। साम्पाङको पार्टीले पूर्वी क्षेत्रमा जनजाति समुदायबीच केही प्रभाव देखाए पनि उनको प्रधानमन्त्री दावेदारीलाई राजनीतिक वृत्तले भने गम्भीर रूपमा लिएको छैन।
निर्वाचन नजिकिँदै जाँदा प्रधानमन्त्रीका आकांक्षी अनुहार सार्वजनिक हुनुले चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको देखिन्छ।
