३ माघ, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ। आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंगो लगाउने उद्देश्यका साथ बैठक बोलाइएको हो।
निर्वाचन कार्यतालिकाअनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन दर्ताको कार्यक्रम तय भएकाले त्यसअघि उम्मेदवारको टुंगो लगाउन बैठक बसेको नेताहरूले बताएका छन्।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी तथा प्रदेश कमिटीहरूले यसअघि नै उम्मेदवारका नाम सिफारिस गरिसकेका छन्। ती सिफारिसअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत रूपमा अगाडि बढाइएको बताइएको छ।
हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिह्नसहित आफ्नै उम्मेदवार अघि बढाउने तयारी गरेको छ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार टुंग्याउने जिम्मा सचिवालयलाई दिएको थियो। प्रतिनिधिसभा निर्वाचनको मतदान फागुन २१ गते हुने निर्वाचन आयोगको कार्यतालिकामा उल्लेख छ।
