धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल (गोपी) ले आफू कुनै पनि राजनीतिक दलमा आवद्ध नहुने स्पष्ट पारेका छन्। २०७९ सालको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा विजयी भएका हमालले जनताबाट प्राप्त म्यान्डेटअनुसार पाँच वर्षसम्म नगरवासीको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै पार्टी प्रवेशको हल्ला निराधार भएको बताएका हुन्।
सामाजिक सञ्जालमा मेयर हमाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दै प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने चर्चा चलेपछि उनले त्यसप्रति खण्डन गरेका छन्। उनले यस्ता प्रचारप्रति भ्रममा नपर्न सबैलाई आग्रह गरेका छन्।
‘मैले कुनै पनि पार्टी प्रवेश गर्ने योजना बनाएको छैन,’ हमालले भने, ‘धनगढीका मतदाताले मलाई पाँच वर्षका लागि स्वतन्त्र मेयरका रूपमा निर्वाचित गराएका हुन्। जनताले दिएको जिम्मेवारी र विश्वासलाई इमानदारितापूर्वक पूरा गर्ने प्रयासमा छु।’ पाँच वर्षको कार्यकाल पूरा नहुँदासम्म आफू कुनै पनि राजनीतिक दलमा नजोडिने उनको स्पष्ट भनाइ छ।
मेयर हमालले जनताको म्यान्डेटमा घात नहुने उल्लेख गर्दै सामाजिक सञ्जालमा फैलाइएका निराधार र भ्रामक सूचनामा विश्वास नगर्न पनि आग्रह गरेका छन्। ‘म जनताको म्यान्डेटअनुसार २०८४ को स्थानीय तह निर्वाचनसम्म स्वतन्त्र हैसियतमै रहेर काम गर्छु,’ उनले भने, ‘अहिले कुनै पनि पार्टी प्रवेश गर्ने योजना छैन।’
केही दिनदेखि मेयर हमाल रास्वपा प्रवेश गर्न लागेको भन्दै उनको तस्बिरसहित सामाजिक सञ्जालमा प्रचार भइरहेको थियो।
