३ माघ, काठमाडौं । नेपाली कांग्रेसले पार्टीमा निष्क्रिय रहेका तथा विभिन्न कारणले पार्टी छाडेका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्कन आह्वान गरेको छ।
निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेपछि बसेको दोस्रो केन्द्रीय कार्यसमिति बैठकले यस्तो निर्णय गरेको हो। बैठकको निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले पार्टी एकता बलियो बनाउन सबैलाई पुनः संगठित हुन आग्रह गरिएको बताए।
‘पार्टीमा निष्क्रिय रहनुभएका र विभिन्न कारणले पार्टी छाड्नुभएका साथीहरूलाई फेरि पनि पार्टीमा जोडिन आह्वान गर्ने निर्णय गरिएको छ,’ चालिसेले भने।
त्यस्तै, बैठकले आगामी फागुन २१ गते हुने निर्वाचनमा सक्रिय रूपमा सहभागी हुन पार्टीका सबै पंक्ति, मतदाता तथा स्वदेश–विदेशमा रहेका कांग्रेसजनलाई अपिल गर्ने निर्णयसमेत गरेको छ। उनले सबैलाई नयाँ ऊर्जा र पुनः एकताको भावनासहित निर्वाचनमा होमिन आग्रह गरिएको जानकारी दिए।
प्रवक्ता चालिसेका अनुसार नेपाली कांग्रेसकै नेतृत्वमा देशलाई अघि बढाउने प्रक्रियामा सम्पूर्ण देशवासीबाट साथ र सहयोग प्राप्त हुने विश्वास पनि बैठकले व्यक्त गरेको छ।
