नेपाली कांग्रेसले आगामी निर्वाचनमा कुनै पनि प्रकारको चुनावी गठबन्धन नगर्ने निर्णय गरेको छ। गगन थापा नेतृत्वको कार्यसमितिले आधिकारिकता पाएपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले यसअघिका ‘अप्राकृतिक गठबन्धन’ दोहोर्याइने छैन भन्ने स्पष्ट सन्देश दिएको हो।
पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बैठकले कांग्रेस एकताबद्ध रूपमा निर्वाचनमा होमिने निर्णय गरेको छ। उनले पार्टी आफ्नै बलबुतामा जनमत लिन तयार रहेको बताए।
बैठकमा नयाँ पुस्ता अर्थात् जेनजीको आकांक्षा र अपेक्षालाई प्रतिनिधित्व गर्ने गरी राजनीतिक एजेन्डा तय गर्ने विषयमा समेत छलफल केन्द्रित भएको प्रवक्ता चालिसेले जानकारी दिए। जनताको भरोसा पुनः स्थापित गर्दै लोकतान्त्रिक मूल्य र मान्यताअनुसार अघि बढ्ने संकल्प कांग्रेसले गरेको उनले बताए।
कांग्रेसको यो निर्णयले आगामी निर्वाचनमा एकल प्रतिस्पर्धाको बाटो रोजिएको स्पष्ट संकेत दिएको छ।
