काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री भीम आचार्यले प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफू उम्मेदवार नबन्ने स्पष्ट पारेका छन्। प्रत्यक्षतर्फका उम्मेदवार टुंगो लगाउन एमालेले बोलाएको सचिवालय बैठकअघि नेपाल प्रेससँग कुरा गर्दै आचार्यले यसपटक चुनाव लड्ने इच्छा नरहेको बताएका हुन्।
२०७९ को निर्वाचनमा सुनसरी क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका आचार्यले यसपटक उम्मेदवार नबन्ने निर्णय पार्टीका सम्बन्धित निकायलाई पहिल्यै जानकारी गराइसकेको बताए। पार्टी अध्यक्ष केपी शर्मा ओली र प्रदेश इञ्चार्ज शेरधन राईलगायत नेताहरूले उनलाई पुनः सुनसरी–२ बाट उम्मेदवार बन्न प्रस्ताव गरे पनि उनले आफ्नो नाम प्रस्ताव नगर्न आग्रह गरेका छन्।
‘आर्थिक कारणले पनि म चुनावमा उठ्ने अवस्थामा छैनँ,’ आचार्यले भने, ‘त्यसमाथि हामीजस्ता नेताहरू पटक–पटक उम्मेदवार हुँदा नयाँ पुस्ता निराश हुन्छ।’ उनले आफ्नो क्षेत्रबाट अरू कसैलाई उम्मेदवारका रूपमा प्रस्ताव नगरेको पनि स्पष्ट पारे।
आचार्य एमालेको ११औँ महाधिवेशनमा उपाध्यक्षका उम्मेदवार थिए। उपाध्यक्ष र केन्द्रीय सदस्य दुवै पदमा उनी पराजित भएका थिए। उपाध्यक्षमा २६५ र केन्द्रीय सदस्यमा ८२९ मत प्राप्त गरेका थिए।
महाधिवेशनको पूर्वसन्ध्यामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता भएको आरोपमा उनीसहितका तत्कालीन जिम्मेवार पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यद्यपि, फौजदारी मुद्दामा दोषी ठहर नभएसम्म उम्मेदवारी दिन कानूनी बाधा नरहेको स्पष्ट गरिएको छ।
आचार्य २०७० सालको दोस्रो संविधानसभामा सुनसरी–६ बाट निर्वाचित भएका थिए। सो कार्यकालमा उनी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनेका थिए। उनकै कार्यकालमा पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सुरु भएको थियो।
