काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता तोडिएपछि कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपालले ठूलो संगठनात्मक क्षति व्यहोरेको छ । उज्यालो नेपालका करिब २० जना केन्द्रीय सदस्य रास्वपामै रहने निष्कर्षमा पुगेका छन् ।
रास्वपा र उज्यालो नेपालबीच भएको एकता १२ दिनमै टुटेको थियो । त्यसपछि कुलमान घिसिङले उज्यालो नेपाल पार्टी पुनः ब्यूँताएर अध्यक्षको जिम्मेवारी सम्हालेका छन् । पार्टीले प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारी गरे पनि समानुपातिकतर्फ प्रतिस्पर्धाबाट भने उज्यालो नेपाल वञ्चित बनेको छ ।
एकतापछि उज्यालो नेपालबाट रास्वपाको बन्दसूचीमा दलित क्लस्टरको पहिलो नम्बरमा रहेकी रिमा विश्वकर्माले कुलमान घिसिङको साथ छाड्दै रास्वपामै समाहित भएकी छन् । बन्दसूचीबाट नहट्ने शर्तमा उनी रास्वपामै बसेकी हुन् । केही दिनअघि उनी रास्वपाको घन्टीघरस्थित कार्यालयसमेत पुगेकी थिइन् । रास्वपाबाट समानुपातिक सांसद बन्ने सम्भावना उनीमा प्रबल देखिएको छ ।
उज्यालो नेपालको केन्द्रीय कमिटीमा रहेका ९ जना डाक्टरमध्ये ६ जना रास्वपामै रहने भएका छन् । रास्वपा रोज्नेमा उपाध्यक्ष डा. ताराप्रसाद जोशी, डा. घनश्याम पाण्डे, डा. विशाल भण्डारी, डा. सागर ढकाल, डा. अभिषेकराज सिंह र डा. शंकर ढकाल रहेका छन् ।
यीमध्ये डा. अभिषेक सिंह र डा. घनश्याम पाण्डे मेडिकल डाक्टर हुन् भने अन्य चार जना पीएचडीधारी हुन् । उज्यालो नेपालका अन्य तीन डाक्टर डा. महेन्द्र लावती, डा. राजु थापा र डा. आशुतोष विजय पन्त भने रास्वपामा नबस्ने निर्णयमा पुगेका छन् ।
रास्वपामा रहेका डा. ताराप्रसाद जोशी सुदूरपश्चिम प्रदेशका सांसद समेत हुन्, जो स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका थिए । डा. अभिषेकराज सिंह रास्वपाको बन्दसूचीमा मधेसी पुरुष क्लस्टरतर्फ चौथो नम्बरमा रहे पनि सूची संशोधनपछि उनको नाम काटिएको बताइन्छ ।
उज्यालो नेपाल छाडेर रास्वपा रोज्ने अन्य केन्द्रीय सदस्यहरूमा सञ्जिब भट्टराई, निर्देश सिलवाल, मिनराज आचार्य, क्षितिज भण्डारी, नेत्रबहादुर कार्की, देवेन्द्रकुमार श्रेष्ठलगायत छन् । सञ्जिब भट्टराई र निर्देश सिलवाल विवेकशील साझाको पृष्ठभूमिबाट आएका हुन् ।
रास्वपा रोजेका अधिकांश नेताहरू प्रत्यक्षतर्फ उम्मेदवारी दिने तयारीमा छन् । डा. ताराप्रसाद जोशी डडेल्धुरा वा कैलाली, डा. अभिषेक सिंह रौतहट–४, डा. विशाल भण्डारी दोलखा वा भक्तपुर–२, डा. शंकर ढकाल काभ्रे–२, डा. सागर ढकाल स्याङ्जा–२, देवेन्द्रकुमार श्रेष्ठ काठमाडौं–७, विशाल गैरे कपिलवस्तु–१, नेत्रबहादुर कार्की सिन्धुपाल्चोक–१, सञ्जिब भट्टराई चितवन–३, क्षितिज भण्डारी कैलाली–५ र मिनराज आचार्य जुम्लाबाट उठ्न इच्छुक रहेको बताइन्छ ।
उज्यालो नेपालबाट आएका नेताहरूलाई रास्वपाले औपचारिक रूपमा व्यवस्थापन भने गरिसकेको छैन । रास्वपा नेतृत्वसँग अनौपचारिक संवाद भइरहेको बताउँदै एक नेताले भने, “नेतृत्वले योग्यता र क्षमता अनुसार सम्मानजनक स्थान दिने बताउनुभएको छ ।”
रास्वपासँगको एकता टुटेपछि उज्यालो नेपाल संगठनात्मक रूपमा कमजोर बन्दै गएको र आगामी निर्वाचनमा पार्टीको अस्तित्व चुनौतीमा परेको विश्लेषण हुन थालेको छ ।
युक्ति टाइम्स
