काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगले गरेको निर्णय आत्मसात गर्ने विश्वास व्यक्त गरेका छन् ।
केन्द्रीय समिति बैठकअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी एकताबद्ध भएर आगामी निर्वाचनमा जाने स्पष्ट पारे । उनले “नवीन कांग्रेस” को अवधारणासँगै “नवीन समाज” निर्माणको बाटोमा पार्टी अघि बढ्ने बताए ।
“हामी एकताबद्ध भएर चुनावमा जान्छौं । नवीन कांग्रेसमार्फत नवीन समाज निर्माण गर्ने हाम्रो लक्ष्य हो,” शर्माले भने ।
देउवासँग संवाद वा आशीर्वाद लिनुहुन्छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, “हामी सबैको आशीर्वाद चाहन्छौँ ।”
उनको अभिव्यक्तिले निर्वाचन आयोगको निर्णयपछि उत्पन्न पार्टीभित्रको असहमतिलाई संवाद र सहमतिबाट समाधान गर्दै कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने संकेत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।
