काठमाडौं । निर्वाचन आयोगको निर्णयविरुद्ध नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पक्ष सर्वोच्च अदालत जाने भएको छ ।
आज सानेपामा बसेको देउवा पक्षको बैठकले गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयको प्रतिवाद गर्ने निर्णय गरेको हो ।
देउवा पक्षका प्रवक्ता डा. प्रकाशशरण महतका अनुसार बैठकले संवैधानिक, राजनीतिक तथा कानुनी सबै माध्यमबाट प्रतिवाद गर्ने निष्कर्ष निकालेको छ ।
“निर्वाचन आयोगको निर्णयप्रति हाम्रो गम्भीर आपत्ति छ । हामी संवैधानिक, राजनीतिक र कानुनी रूपमा यसको प्रतिवाद गर्छौं,” महतले बताए ।
उनका अनुसार सर्वोच्च अदालतमा मुद्दा दर्ता गर्ने प्रक्रिया चाँडै अघि बढाइनेछ । साथै, पार्टीभित्र र बाहिर राजनीतिक रूपमा समेत आफ्नो धारणा प्रस्ट पार्ने निर्णय गरिएको छ ।
निर्वाचन आयोगले हालै गगन थापा नेतृत्वको कार्यसमितिलाई नेपाली कांग्रेसको आधिकारिक नेतृत्वको मान्यता दिएपछि पार्टीभित्र विवाद चर्किएको छ । देउवा पक्षको यो निर्णयले कांग्रेसको आन्तरिक राजनीति थप पेचिलो बन्ने संकेत देखिएको छ ।
