३ माघ, काठमाडौं । नेपाली कांग्रेसका नेता सुनिल शर्माले आसन्न निर्वाचनपछि प्रधानमन्त्रीका रूपमा गगन थापा नै अघि आउने दाबी गरेका छन् ।
विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ कार्यक्रमबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, “चुनावपछि प्रधानमन्त्री गगन थापा हुन्, यसमा कुनै द्विविधा छैन ।”
नेता शर्माले पार्टी फुटेको नभई महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन भएको स्पष्ट पार्दै नयाँ नेतृत्वले पार्टीलाई एकताबद्ध बनाउने विश्वास व्यक्त गरे । लोकतन्त्रमा गुट र प्रतिस्पर्धा स्वाभाविक प्रक्रिया भएको उल्लेख गर्दै उनले पार्टी विधि र विधानअनुसार अघि बढ्ने बताए ।
“निर्वाचन आयोगको निर्णय स्वीकार्नुको विकल्प छैन,” उनले भने, “अब सबैले इगो त्यागेर अघि बढ्नुपर्छ ।”
उनले कांग्रेस नेताहरूलाई निर्वाचनकेन्द्रित भएर गाउँ–गाउँ पुग्न सुझाव दिँदै भने, “अब गाउँ छिर्ने हो, ट्याकट्याक जित्ने हो ।”
नेता शर्माले आगामी निर्वाचनमा कांग्रेस कुनै पनि गठबन्धनमा नजाने स्पष्ट पारेका छन् । उनका अनुसार कांग्रेस एक्लै चुनावी प्रतिस्पर्धामा उत्रिएर जनतामाझ जाने रणनीतिमा अघि बढ्नेछ ।
उनको यो अभिव्यक्तिसँगै कांग्रेसभित्रको आगामी नेतृत्व र चुनावी रणनीतिबारे राजनीतिक वृत्तमा थप चर्चा सुरु भएको छ ।
