३ माघ, काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापालाई बधाई दिँदै पार्टीमा फुट नभई परिवर्तन आएको टिप्पणी गरेकी छिन्।
सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो वक्तव्य जारी गर्दै कोइरालाले भनिन्, “अहिले युवाले, नेपाली समाजले र नेपाली जनताले परिवर्तन चाहेको छ। परिवर्तनलाई हासेर, खुसी भएर, अंगालो मार्नु पर्दछ। नेपाली कांग्रेसमा पनि परिवर्तन आएको छ, पार्टी फुटेको छैन। नयाँ सभापति आउनुभएको छ, म बधाई दिन चाहन्छु।”
उनीहरुले गगन थापालाई पूर्व सभापति विपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको संगठनात्मक शैली नबिर्सेर पार्टी सञ्चालन गर्न सुझाव पनि दिएकी छिन्।
कोइरालाले वर्तमान परिस्थितिलाई सहज रूपमा स्वीकार्न नेताहरूलाई आग्रह गर्दै कानुनको व्याख्या धेरै नगर्न र नआत्तिन पनि सुझाव दिएकी छिन्।
विशेष महाधिवेशनबाट गगन–विश्व नेतृत्वले शुक्रबार कांग्रेसको आधिकारिकता पाएको थियो।
