काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय क्रिकेट टोलीको औपचारिक बिदाई गरिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार एक कार्यक्रम आयोजना गरी विश्वकपमा सहभागी हुने टोलीलाई बिदाई तथा शुभकामना दिएको हो ।
फेब्रुअरी–मार्चमा श्रीलंका र भारतमा आयोजना हुने आईसीसी टी–२० विश्वकपमा सहभागी हुनुअघि नेपाली टोलीले अभ्यास खेलहरू समेत खेल्नेछ । टोली आइतबार भारत प्रस्थान गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।
बिदाई कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्कालगायत पदाधिकारीहरूले खेलाडी तथा अफिसियलहरूलाई शुभकामना दिँदै विश्वकपमा उत्कृष्ट प्रदर्शनको अपेक्षा व्यक्त गरे ।
अध्यक्ष चन्दले नेपाली टोलीले पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रगति गरेको उल्लेख गर्दै विश्वकपमा देशको प्रतिष्ठा उचाल्ने विश्वास व्यक्त गरे ।
नेपाली टोलीको विश्वकप सहभागिताले नेपाली क्रिकेट समर्थकहरूमा उत्साह थपिएको छ ।
