काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा आफू पनि उम्मेदवार बन्ने घोषणा गरेका छन् ।
नेपाल पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको दोस्रो सम्मेलनमा बोल्दै मन्त्री खरेलले निर्वाचनपछि बन्ने संसद् र सरकारमा आफ्नो समेत उपस्थिति रहने चाहना व्यक्त गरे । उनले मिडिया क्षेत्रको प्रतिनिधित्व संसद् र सरकारमा आवश्यक रहेको बताए ।
“चुनावपछि बन्ने संसद् र सरकारमा मेरो पनि चाहना छ । कतै न कतैबाट मिडियाको उपस्थित हुने त्यो संसद् र सरकारमा उपस्थिति होस् भन्ने नै हो,” उनले भने ।
मन्त्री खरेलले सरकारले तोकिएकै समयमा निर्वाचन गराउने दाबी गर्दै चुनावी प्रक्रिया निष्पक्ष र लोकतान्त्रिक हुने विश्वास व्यक्त गरे ।
साथै, उनले आगामी निर्वाचनमा परिवर्तनले खोजेअनुसार योग्य र सक्षम व्यक्तिलाई नेतृत्वमा पुर्याउन मतदातालाई आग्रह गरे ।
प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा मन्त्री खरेलको उम्मेदवारी घोषणाले राजनीतिक वृत्तमा चासो बढाएको छ ।
