कैलाली/डडेल्धुरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र डडेल्धुरा निर्वाचन क्षेत्रको टिकटलाई लिएर आन्तरिक विवाद चर्किएको छ । पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन) ले सागर ढकाललाई डडेल्धुराबाट उम्मेदवारका रूपमा अघि सारेपछि स्थानीय तहका नेताहरू असन्तुष्ट देखिएका छन् ।
गत बुधबार बालेनले रास्वपाका केही डडेल्धुरा प्रतिनिधिको उपस्थितिमा सागर ढकाललाई टिकटको प्रत्याभूति दिएको बताइएको छ । तर, पार्टीले अहिलेसम्म कुनै पनि निर्वाचन क्षेत्रमा उम्मेदवारको औपचारिक टुंगो लगाइसकेको छैन । पार्टीको निर्णयभन्दा अघि नै बालेनले सागरलाई ‘फिक्स’ गरेको भन्दै रास्वपाभित्र आलोचना सुरु भएको हो ।
बालेनले सागर ढकालबारे भनेका थिए, “रास्वपाबाट डडेल्धुराको उम्मेदवार सागर ढकाल नै हुन्छन्, उहाँ आफैंले नाइँ नभनेसम्म ।” बालेनको यो अभिव्यक्तिले स्थानीय नेताहरूमा असन्तुष्टि बढाएको छ ।
डडेल्धुराबाट रास्वपाको टिकटमा जिल्ला सभापति इन्जिनियर सुरेन्द्र अवस्थी पनि आकांक्षी छन् । अवस्थीले पार्टी संस्थापन पक्षबाट आफूलाई ग्रीन सिग्नल मिलेको दाबी गर्दै स्थानीय लोकप्रियता र जितको आधारमा आफू नै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् । उनका अनुसार सागर ढकाललाई रुपन्देही वा गुल्मीबाट उम्मेदवारी दिन पार्टीले सुझाव दिएको छ ।
“पार्टीले जित्ने उम्मेदवारलाई प्राथमिकता दिन्छ,” अवस्थीले भने, “सागरलाई अर्को क्षेत्र रोज्न सुझाव दिइएको हो । तर उहाँ डडेल्धुरामै जाने अडानमा हुनुहुन्छ ।”
सागर ढकाल अघिल्लो निर्वाचनमा पनि डडेल्धुराबाट स्वतन्त्र उम्मेदवार बनेका थिए । तत्कालीन प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध प्रतिस्पर्धा गर्दै उनले १३ हजार ४२ मत प्राप्त गरेका थिए । यसपटक देउवालाई हराएर संसद छिर्ने लक्ष्यसहित उनी पुनः मैदानमा उत्रिन खोजिरहेका छन् ।
तर, अघिल्लो निर्वाचनपछि सागर ढकाल डडेल्धुरामा फर्केर सक्रिय नभएको र “डडेल्धुराका जनता भेडा हुन्” भन्ने अभिव्यक्तिले स्थानीय स्तरमा उनको लोकप्रियता घटेको जिल्ला तहका रास्वपा नेताहरू बताउँछन् ।
सागर ढकाल भने आफू नै डडेल्धुराबाट उम्मेदवार हुने दाबीमा अडिग छन् । “अफिसियल निर्णय कसैको पनि भएको छैन, तर मेरो लगभग फाइनल जस्तै हो,” उनले भने, “केही दिनमै चुनावी प्रचारका लागि डडेल्धुरा जाने तयारीमा छु ।”
डडेल्धुरा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको गढ मानिन्छ । देउवा २०४८ सालदेखि लगातार सात पटकसम्म डडेल्धुराबाट निर्वाचित हुँदै आएका छन् । उनलाई चुनौती दिने रास्वपाको उम्मेदवार को हुने भन्ने विषयले अहिले पार्टीभित्र मात्रै होइन, जिल्लास्तरको राजनीतिक सरगर्मीसमेत बढाएको छ ।
पार्टी निर्णयभन्दा अघि नै व्यक्तिले उम्मेदवार घोषणा गर्नु पार्टी विधि विपरीत भएको भन्दै रास्वपाभित्र यो विषय थप पेचिलो बन्दै गएको छ । अब अन्तिम निर्णय पार्टीले कसलाई दिन्छ भन्ने कुराले डडेल्धुराको चुनावी राजनीति थप रोचक बन्ने देखिएको छ ।
