काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनपछि उत्पन्न विवाद चर्किदै जाँदा देउवा समूहले बोलाएको कार्यसमिति बैठकमा शेखर कोइराला समूह अनुपस्थित रहने भएको छ। सानेपास्थित पार्टी कार्यालयमा आज बस्ने बैठकमा शेखर पक्षका नेताहरू नआउने भएका हुन्।
विशेष महाधिवेशन बोलाउँदै गगन–विश्व पक्ष आक्रामक बनेपछि शेखर कोइराला संस्थापनतिर पुगेका थिए। उनले खुलेर गगन पक्षको आलोचना समेत गरेका थिए। तर निर्वाचन आयोगले गगन नेतृत्वलाई कांग्रेसको वैधानिकता दिएपछि शेखर समूहले आफ्नो राजनीतिक रणनीतिमा पुनर्विचार गर्न थालेको छ।
कोइरालाले आफू नजिकका केन्द्रीय सदस्य तथा पदाधिकारीसँग बालुवाटारस्थित आफ्नो सम्पर्क कार्यालयमा भेटघाट र छलफल जारी राखेको कोइराला सचिवालयले जनाएको छ। आजको बैठकमा सहभागी नहुने निर्णयसँगै शेखर समूहले बदलिएको राजनीतिक परिस्थितिमा कसरी अघि बढ्ने भन्ने विषयमा विमर्श गरिरहेको बताइएको छ।
यसैबीच देउवा पक्षले बोलाएको बैठकमा अन्य नेताहरू आउन थालिसकेका छन्। कांग्रेसको आन्तरिक विवाद समाधान हुन समय लाग्ने देखिएको छ।
