३ माघ, काठमाडौं । निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएपछि शेरबहादुर देउवा पक्षले सो निर्णय अस्वीकार गरेको छ। देउवा पक्षले आयोगको निर्णय षड्यन्त्रपूर्वक गरिएको आरोप लगाउँदै कानुनी तथा राजनीतिक दुवै मोर्चामा चुनौती दिने चेतावनी दिएको छ।
देउवा पक्षका नेता पूर्णबहादुर खड्काले आयोगको निर्णय प्रक्रियागत रूपमा त्रुटिपूर्ण भएको दाबी गर्दै भने, “हामी वैधानिक कानुनी लडाइँ सबै लड्छौं। यो निर्णय धेरै पहिले सेटिङ भएको भनिएको थियो, ती कुरा पुष्टि हुँदै आएका छन्।”
खड्काले निर्वाचन आयोगले आधिकारिक रुपमा निर्वाचित समितिलाई नबोलाई निर्णय गरेको भन्दै असन्तुष्टि व्यक्त गरे।
निर्वाचन आयोगले शुक्रबार साँझ विशेष महाधिवेशनबाट निर्वाचित गगन–विश्व नेतृत्वलाई वैधानिकता प्रदान गरेको थियो। सो निर्णयसँगै कांग्रेसको आधिकारिकता विवाद नयाँ मोडमा प्रवेश गरेको छ।
