३ माघ, काठमाडौं । भक्तपुरमा एक छोराले आफ्नै आमाको हत्या गरेको घटनाले स्थानीय क्षेत्र स्तब्ध भएको छ। मध्यपुर थिमी नगरपालिका–३ तेर्सेटामा शुक्रबार राति २७ वर्षीय प्रविण भण्डारीले ५० वर्षीया आमा सरिता भण्डारीमाथि धारिलो हतियारले हमला गरेका थिए।
आक्रमणबाट गम्भीर घाइते भएकी सरिताको उपचारका क्रममा भक्तपुर इन्टरनेशनल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश जबेगुले जानकारी दिए।
धनुषाको मिथिला नगरपालिका–११ निवासी भण्डारी परिवार तेर्सेटामा डेरामा बस्दै आएका थिए। आमालाई प्रहार गरेपछि प्रविणले आफ्नै टाउकोमा पनि धारिलो हतियारले हानेको प्रहरीले जनाएको छ। उनी घाइते अवस्थामा रहेका छन्।
घटनाको कारण प्रष्ट भएको छैन भने प्रहरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।
