२ माघ, काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगमाथि समयको चर्को दबाब परेको छ। कांग्रेसका दुवै समूह—गगन–विश्व नेतृत्व तथा शेरबहादुर देउवा नेतृत्व—लगातार आयोग पुगेर आफ्नो पक्ष मान्यता पाउन दाबी गरिरहेका छन्, जसका कारण आयोगको काममा थप चुनौती बढेको छ।
दुवै समूहका नेताहरूले ज्ञापनपत्र बुझाउँदै, ध्यानाकर्षण गराउँदै आयोगका पदाधिकारीसँग निरन्तर भेटघाट गरिरहेका छन्। आयोगसम्बद्ध स्रोतका अनुसार बाहिरी गतिविधि मात्र होइन, फोनमार्फत हुने दबाब समेत तीव्र बनेको छ।
भृकुटीमण्डपमा विशेष महाधिवेशन सुरु भएको जानकारी गगन–विश्व समूहले आयोगलाई दिएको थियो। तर देउवा पक्षले त्यस्तो महाधिवेशन नबएको भन्दै प्रतिवाद गर्यो। महाधिवेशनपछि दुवै समूहले अभिलेख अद्यावधिकका लागि निवेदन बुझाए भने देउवा पक्षले ५ सयभन्दा बढी हस्ताक्षर फिर्ता गरिएको सूचीसमेत पेश गरेको छ।
गगन–विश्व समूहले देउवा पक्ष आयोगमा गएर अप्रत्यक्ष दबाब र धम्की दिएको दाबी गर्दै आयोगसमक्ष आफ्नो पक्ष मजबुत रूपमा प्रस्तुत गरेको छ।
आयोगभित्र अहिले अत्यधिक चाप महसुस भइरहेको एक स्रोतले बतायो — “देखिएका गतिविधि त यति धेरै छन्, नदेखिएका फोन र दबाब कति होलान् भन्ने कुरा झन् ठूलो हो।”
आयोगले नियमित निर्वाचन कार्यसमेत प्रभावित बन्दै गएपछि छिटो निर्णय गर्नुपर्ने मनस्थिति बनाइसकेको बताइएको छ। सम्भव भएसम्म शुक्रबार अपराह्न वा त्यो हुन नसके शनिबारसम्म निर्णय गर्न सकिने स्रोतले जानकारी दियो। सोमबार सार्वजनिक बिदा र मंगलबार मनोनयन भएकाले आयोगलाई ढिलाइ गर्ने अवस्था नभएको पनि उल्लेख छ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले अहिले दलहरूसँग निरन्तर छलफल भइरहेको बताउँदै भने, “आजै के हुन्छ भनेर भन्न सकिँदैन, तर ढिलोसम्म केही स्पष्ट हुन सक्छ।”
