काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाललाई विकासवादी तथा विकासप्रेमी नेतृका रूपमा यहाँका जनताले नै स्थापित गरेको बताएका छन् ।
चितवनस्थित भरतपुर महानगरपालिकाको नयाँ प्रमुख प्रशासकीय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले रेणुको पहिचान आफूहरूले होइन, जनताले बनाएको स्पष्ट पारे ।
“रेणुको नाम अब विकासवादी रेणु, विकासप्रेमी रेणु भनेर तपाईंहरूले नै स्थापित गर्नुभएको हो । मैले–हामीले होइन, तपाईंहरूले नै हो,” उनले भने, “यसलाई आदर्श मानेर अगाडि बढ्न जरुरी छ ।”
कार्यक्रममा प्रचण्डले सामाजिक सञ्जालमा हुने स्टन्टबाजीप्रति पनि कडा टिप्पणी गरे । सामाजिक सञ्जालकै अतिरञ्जनाका कारण गत २४ भदौमा देश गम्भीर संकटतर्फ धकेलिएको उनको भनाइ थियो ।
“सोसल मिडियामा स्टन्ट गरेकै भरमा मानिसहरूको दिमाग चाट्ने प्रक्रिया चलिरहेको छ,” उनले भने, “त्यही स्टन्टबाजीका कारण हाम्रो राष्ट्र झन्डै २४ भदौमा खरानी जस्तै बनेको हो । त्यो कुनै विचार, सिद्धान्त वा आदर्शका कारणले होइन ।”
उनले अहिले पनि सतर्क नहुँदा देश दुर्घटनातर्फ जान सक्ने चेतावनी दिए । सिद्धान्त, विचार, आदर्श र निष्ठाविहीन होहल्लाको पछि लागेमा देशलाई गम्भीर क्षति पुग्ने प्रचण्डको भनाइ थियो ।
“अहिले पनि हामी सबै एकताबद्ध भएर जिम्मेवार र सतर्क भएनौँ भने देश दुर्घटनामा पर्न सक्छ,” उनले भने, “चितवनकै नागरिकको नाताले यो मेरो कर्तव्य ठानेर तपाईंहरू सबैलाई अपिल गर्दछु ।”
प्रचण्डले समाजमा देखिएको अराजकतामाथि नियन्त्रण गर्न सबै पक्ष गम्भीर र जिम्मेवार बन्नुपर्नेमा पनि जोड दिए ।
