काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनको नाममा भेला आह्वान गरेर पार्टी विधानविपरीत गतिविधि गरिएको आरोप लगाएका छन् ।
पार्टी विभाजनपछि सानेपामा आयोजित पत्रकार सम्मेलनमा खड्काले आज मात्रै निर्वाचन आयोगमा पुगेर पार्टीको वैधानिकताबारे गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए । उनले केन्द्रीय समितिबाहेक कुनै पनि निकायलाई महाधिवेशन गर्ने अधिकार नभएको स्पष्ट पारे ।
खड्काले पार्टीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्दै भने, “सर्वसम्मत निर्णय गरेर आगामी वैशाखमा महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक भइसकेको छ ।”
उनले गगन थापाले क्रियाशील सदस्यताको विवरण बुझाउन नसकेकाले अघिल्लो पटक तय गरिएको महाधिवेशन कार्यतालिका प्रभावित भएको दाबी गरे । साथै, आफ्नो जानकारीबिनै नियमित महाधिवेशन स्थगन गरी विशेष महाधिवेशन आह्वान गरिएको भन्दै उनले आपत्ति जनाए ।
खड्काले पार्टीको विधान, परम्परा र संस्थागत निर्णयको सम्मान गर्न सबै पक्षलाई आग्रह गरेका छन् ।
