काठमाडौं । फागुन २१ गते हुने निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेकपा एमालेले पार्टी केन्द्रीय सचिवालयको बैठक बोलाएको छ ।
पार्टी प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीका अनुसार बैठक शनिबार दिउँसो १ बजे बस्नेछ । निर्वाचन कार्यतालिका अनुसार माघ ६ गते १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार मनोनयन भइसकेकाले अन्तिम निर्णयका लागि सचिवालय बैठक बोलाइएको हो ।
एमालेका निर्वाचन क्षेत्रीय समन्वय कमिटी, जिल्ला कमिटी र प्रदेश कमिटीले यसअघि नै उम्मेदवारको नाम सिफारिस गरिसकेका छन् । सोही आधारमा अध्यक्ष केपी शर्मा ओलीसहित करिब ३५ जना नेताको नाम सर्वसम्मत सिफारिस भएको स्रोतले जनाएको छ ।
हालसम्म कुनै पनि पार्टीसँग चुनावी गठबन्धन गर्ने निर्णय नभएकाले एमालेले सबै निर्वाचन क्षेत्रमा सूर्य चिन्हबाट आफ्नै उम्मेदवार अघि बढाउने तयारी गरेको छ ।
यसअघि बसेको केन्द्रीय कमिटी बैठकले उम्मेदवार चयनको जिम्मेवारी सचिवालयलाई दिएको थियो ।
