काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा समूहले पुस ३० गते सम्पन्न विशेष महाधिवेशन विधानसम्मत, बहुमत प्रतिनिधिको उपस्थिति र सहभागितामा पूर्ण रूपमा वैधानिक तरिकाले सम्पन्न भएको दाबी गरेको छ ।
शेरबहादुर देउवा समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोग पुगेपछि गगन थापा समूहका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै महाधिवेशनमा २ हजार ६५२ जना प्रतिनिधि उपस्थित भएको जानकारी गराएका छन् ।
विज्ञप्तिमा उपस्थित सबै प्रतिनिधिहरूले निर्णय प्रक्रिया, बहस तथा मतदानमा सक्रिय सहभागिता जनाएको उल्लेख छ । महाधिवेशन सम्पन्न भएपछि केही प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको भनिए पनि त्यसको कुनै कानुनी वा वैधानिक प्रभाव नपर्ने दाबी गरिएको छ ।
‘अधिवेशन सम्पन्न भइसकेपछि फिर्ता लिइएको भनिने हस्ताक्षरले विशेष महाधिवेशनको वैधानिकता, निर्णय प्रक्रिया वा निर्णयहरूको वैधतामा कुनै असर पार्दैन,’ विज्ञप्तिमा उल्लेख छ ।
गगन थापा समूहले नेपालको संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एक पटक विधिसम्मत रूपमा दर्ता भई सम्पन्न भएको अधिवेशनका निर्णयलाई पछिल्लो हस्ताक्षर फिर्ताले रद्द वा प्रभावित गर्न नमिल्ने स्पष्ट पारेको छ ।
कांग्रेसको आधिकारिक नेतृत्वसम्बन्धी विवाद निर्वाचन आयोगमा विचाराधीन रहेको अवस्थामा दुवै पक्षबाट आ–आफ्नो दाबी सार्वजनिक भइरहेका छन् ।
