सिन्धुली । घ्याङलेख गाउँपालिकास्थित एसबिआई बैंक शाखामा भएको लुटपाट घटनामा संलग्न सातै जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस २९ गते भएको करिब तीन करोड रुपैयाँको लुटपाटमा बैंक रहेको घरधनी स्वयं मुख्य योजनाकारमध्ये एक रहेको खुलेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीका अनुसार प्रहरीले हालसम्म २ करोड ६८ लाख ५५ हजार १७५ रुपैयाँ बरामद गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा–१० का ४२ वर्षीय भागवतसिंह थापा, सिन्धुली घ्याङलेख–२ का ४७ वर्षीय चतुरमान बज्यु, चितवन भरतपुर–२ का २४ वर्षीय शशांक श्रेष्ठ, नुवाकोट पञ्चकन्या–५ का २३ वर्षीय मिलन गिरी, १९ वर्षीय विवेक मगर, सिन्धुली घ्याङलेख–२ का ४४ वर्षीय छविलाल स्याङ्तान तथा १६ वर्षीय एक नाबालक रहेका छन् ।
प्रहरीका अनुसार पुस २९ गते साँझ करिब साढे ७ बजे घ्याङलेख–२ हायुटारस्थित एसबिआई बैंक शाखामा लुटपाट भएको थियो । घटनामा करिब ५–६ जनाको समूह संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । लुटेराहरूले सुरक्षा गार्ड रुद्रबहादुर कार्की तथा बैंक कर्मचारीलाई नियन्त्रणमा लिई खुकुरी प्रहार गरेका थिए । गार्ड कार्की सामान्य घाइते भएका थिए ।
लुटपाटपछि घटनास्थलबाट करिब दुई किलोमिटर पूर्व लिपिखोलामा टाटा सुमोसहित चालक भागवतसिंह थापालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । सोही रात जंगलमा बोरामा लुकाएर राखिएको अवस्थामा १ करोड ८० लाख १० हजार ५ सय रुपैयाँ फेला परेको थियो ।
त्यसपछि पुस ३० गते बिहान घ्याङलेख–१ सुकाचुरीबाट चार जना शंकास्पद व्यक्तिलाई पक्राउ गरी खानतलासी गर्दा उनीहरूबाट ५ लाख ९ हजार ६ सय ७५ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ । उनीहरूले घटनामा संलग्न भएको स्वीकार गर्दै लुकाएर राखेको थप ८३ लाख ३५ हजार रुपैयाँ, नकाब, पञ्जा र नक्कली प्लाष्टिकको पेस्तोलसमेत बरामद भएको छ ।
प्रहरीका अनुसार बैंक रहेको घरधनी छविलाल स्याङ्तान र चतुरमान बज्यु घटनाका मुख्य योजनाकार हुन् । बज्यु स्याङ्तानका जेठान पर्ने नातेदार हुन् । उनीहरूले असोज महिनादेखि नै बैंक लुट्ने योजना बनाएको खुलेको छ । पुस २३ गते पनि लुटपाटको प्रयास गरिएको भए पनि परिस्थिति अनुकूल नभएकाले योजना असफल भएको थियो ।
पुस २९ गते पुनः योजना अनुसार काठमाडौंको कोटेश्वरबाट टोली बनेपा हुँदै टाटा सुमो भाडामा लिएर घ्याङलेख पुगेको प्रहरीको भनाइ छ । घरधनी स्याङ्तानले लुटपाटका लागि आवश्यक हातहतियार तथा सूचनाको व्यवस्थापन गरेका थिए ।
लुटेराहरूले प्लाष्टिकको पेस्तोल देखाएर बैंकको भल्ट खोली बोरा तथा झोलामा रकम हालेर फरार भएका थिए । बैंकले घटनामा ३ करोड ७ लाख रुपैयाँ लुटिएको जानकारी दिएको थियो ।
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
