२ माघ, काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा दुई हजार ६५२ जना महाधिवेशन प्रतिनिधिहरू सहभागी भएको जानकारी गराइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै उक्त तथ्य सार्वजनिक गरेका हुन् ।
चालिसेले चार हजार ६३५ मताधिकार भएका महाधिवेशन प्रतिनिधिमध्ये दुई हजार ६५२ जना प्रतिनिधि उपस्थित भई नेतृत्व चयन प्रक्रियामा सहभागी भएको बताएका छन् । उनका अनुसार विशेष महाधिवेशन विधानसम्मत, बहुमत प्रतिनिधिको उपस्थितिमा वैधानिक रूपमा सम्पन्न भएको हो ।
विज्ञप्तिमा जनाइएअनुसार विशेष महाधिवेशन असोज २९ गते पार्टी केन्द्रीय कार्यालयमा दर्ता हुँदा दुई हजार ४८८ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संलग्न थियो । दर्तापछि २९ जनाले मात्रै हस्ताक्षर फिर्ता लिएको उल्लेख गरिएको छ ।
अधिवेशनमा उपस्थित प्रतिनिधिहरूले निर्णय प्रक्रिया, बहस र मतदानमा सक्रिय सहभागिता जनाएको चालिसेको भनाइ छ । अधिवेशन सम्पन्न भइसकेपछि केही प्रतिनिधिले हस्ताक्षर फिर्ता लिएको दाबी गरिए पनि त्यसले महाधिवेशनको वैधानिकता र त्यसबाट भएका निर्णयमा कुनै असर नपर्ने स्पष्ट पारिएको छ ।
विज्ञप्तिमा संविधान, नेपाली कांग्रेसको विधान तथा नियमावलीअनुसार एकपटक विधिसम्मत रूपमा दर्ता भई सम्पन्न भएको अधिवेशनका निर्णयलाई पछि गरिएको हस्ताक्षर फिर्ताले रद्द गर्न नसकिने उल्लेख गरिएको छ ।
केही सञ्चारमाध्यममा २९ जनाभन्दा बढीले हस्ताक्षर फिर्ता लिएको प्रचार गरिएकोप्रति ध्यानाकर्षण गर्दै चालिसेले त्यसको कुनै आधिकारिक सूची वा प्रमाणित कागजात सार्वजनिक नभएको बताएका छन् । उनले यस्तो प्रचार राजनीतिक उद्देश्यले अतिरञ्जित र भ्रामक रूपमा फैलाइएको दाबी गरेका छन् ।
