काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित (गगन थापा समूह) महामन्त्री गुरुराज घिमिरेले सात बुँदे ध्यानाकर्षण सार्वजनिक गर्दै शेरबहादुर देउवा पक्षले निर्वाचन आयोगमा पेश गरेको आधिकारिकता दाबीप्रति आपत्ति जनाउनुभएको छ ।
घिमिरेले विशेष महाधिवेशन सम्पन्न भइसकेपछि पुनः यसको वैधतामाथि प्रश्न उठाउनु राजनीतिक प्रपोगाण्डा मात्र भएको टिप्पणी गर्नुभयो ।
“महाधिवेशन प्रतिनिधिहरू विशेष महाधिवेशनमा सहभागी भई मतदान वा सर्वसम्मत रूपमा नेतृत्व चयन गरिसकेपछि यो विषय उठाउनु केबल राजनीतिक प्रपोगाण्डा मात्र हो,” उहाँले ध्यानाकर्षणमा उल्लेख गर्नुभएको छ ।
उहाँले तत्कालीन केन्द्रीय कार्यसमितिले आफ्नो वैधानिक दायित्वबाट पन्छिँदै विशेष महाधिवेशनको मागलाई बेवास्ता गरी चार महिनापछि नियमित महाधिवेशनको मिति घोषणा गर्नु विधिसम्मत नभएको पनि उल्लेख गर्नुभएको छ ।
घिमिरेका अनुसार विशेष महाधिवेशन आयोजनाको मागपत्रमा हस्ताक्षर गरेका प्रतिनिधिमध्ये जम्मा २९ जनाले मात्र आफ्नो हस्ताक्षर फिर्ता लिएको अभिलेख सचिवालयमा रहेको छ ।
तत्कालीन कार्यवाहक सभापतिले आफैँ उपस्थित भएर विशेष महाधिवेशनको मागपत्र बुझेर पनि “विशेष महाधिवेशनको हल्ला मात्रै सुनेको” भन्ने अभिव्यक्ति दिनु उदेकलाग्दो भएको घिमिरेको टिप्पणी छ ।
ध्यानाकर्षणमा विशेष महाधिवेशनको वैधानिकता पुष्टि गर्ने तथ्यांकसमेत प्रस्तुत गरिएको छ । घिमिरेका अनुसार विशेष महाधिवेशनको माग गर्दा कुल ४ हजार ६३५ महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४८८ जनाको हस्ताक्षर रहेको थियो, जुन ५४.५८ प्रतिशत हो । विशेष महाधिवेशनमा सहभागी संख्या २ हजार ६५२ अर्थात् ५७.२१ प्रतिशत रहेको उल्लेख गरिएको छ ।
घिमिरेले यी तथ्यांकले विशेष महाधिवेशन विधानअनुसार र वैधानिक रूपमा सम्पन्न भएको पुष्टि गर्ने दाबी गर्नुभएको छ ।
