दमक । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि भारत सरकारले नेपाललाई करिब चार सय वटा गाडी सहयोग गर्ने भएको छ । तीमध्ये पहिलो चरणमा १०६ वटा गाडी एक साताभित्र नेपाल आइपुग्ने तयारी भएको छ ।
गृह मन्त्रालयका अनुसार ती गाडी भन्सार छुटमा ल्याउने प्रक्रिया अघि बढाइसकिएको छ । मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भारतबाट अनुदानस्वरूप करिब चार सय गाडी आउने जानकारी दिनुभयो ।
“त्यसमध्ये १०८ वटा गाडी एक साताभित्र आइपुग्नेछन्,” उहाँले भन्नुभयो, “आवश्यक प्रक्रिया पूरा भइसकेको छ ।”
निर्वाचनका क्रममा सुरक्षा व्यवस्थापनका लागि सवारी साधनको अभाव रहेको भन्दै भारतबाट आउने अधिकांश गाडी नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षा निकायलाई उपलब्ध गराउने तयारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
निर्वाचन सुरक्षालाई प्रभावकारी बनाउन सवारी साधन सहयोग महत्वपूर्ण हुने गृह मन्त्रालयको विश्वास छ ।
