दमक । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका पाँच जिल्लामा निर्वाचन सुरक्षाका लागि आवश्यक प्रहरी जनशक्तिमा मागभन्दा कम दरखास्त परेका छन् ।
बिहीबार प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार बझाङ, डोटी, अछाम, डडेलधुरा र बैतडी जिल्लामा मागअनुसार आवेदन नपरेका हुन् ।
बझाङमा १ हजार ४८४ जनाको माग गरिएकोमा हालसम्म १ हजार ४४६ जनाले मात्र आवेदन दिएका छन्, जसमा ३८ जनाको कमी छ । डोटीमा १ हजार ४० जनाको माग गरिएकोमा ९५० जनाले आवेदन दिएका छन्, जसमा ९० जना कम छन् ।
अछाममा १ हजार ४६३ जनाको मागमध्ये १ हजार २८७ जनाले आवेदन दिएका छन् । यहाँ १७६ जनाको अभाव देखिएको छ । डडेलधुरामा ९४४ जनाको माग गरिएकोमा ८०७ जनाले मात्र दरखास्त दिएका छन्, जसमा १८७ जना कम छन् ।
यस्तै, बैतडीमा १ हजार २७९ जनाको माग गरिएकोमा १ हजार २० जनाले आवेदन दिएका छन् । यहाँ २५९ जनाको कमी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मागभन्दा कम दरखास्त परेका जिल्लाहरूमा आज र भोलि थप समय दिइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी खगेन्द्र धमलाले जानकारी दिनुभयो ।
यसैबीच, सुदूरपश्चिमका चार जिल्लामा भने मागभन्दा बढी दरखास्त परेका छन् । कैलालीमा ३ हजार ५७६ जनाको माग गरिएकोमा ५ हजार १५१ जनाले आवेदन दिएका छन्, जसमा १ हजार ५७५ बढी छन् ।
कञ्चनपुरमा २ हजार ३५ जनाको माग गरिएकोमा २ हजार ९०६ आवेदन परेका छन्, जसमा ८७१ बढी छन् । बाजुरामा ९६४ जनाको माग गरिएकोमा १ हजार ८५ जनाले आवेदन दिएका छन्, जसमा १२१ बढी छन् ।
दार्चुलामा ८८४ जनाको माग गरिएकोमा १ हजार ५४१ आवेदन परेका छन्, जसमा ६५७ बढी छन् ।
प्रदेशभर कुल १३ हजार ६६९ जनाको माग गरिएकोमा हालसम्म १६ हजार १९३ जनाले आवेदन दिएका छन् । दरखास्त दिने म्याद पुस २५ गतेदेखि माघ १ गतेसम्म तोकिएको थियो ।
