काठमाडौं । राप्रपामा समानुपातिक सूची सच्याउन माग गर्दै आमरण अनशनमा रहेकी नेतृ नानीमैया आचार्यले आफूलाई महामन्त्री बनाउने सहमतिपछि अनशन तोडेकी छन् ।
उहाँलाई राप्रपाका पूर्वअध्यक्ष तथा वयोवृद्ध नेता पशुपति शम्शेर राणाले जुस खुवाएर हिजो अनशन तोडाएका हुन् ।
समानुपातिक बन्दसूचीमा महिला क्लस्टरतर्फ समावेश नामप्रति असन्तुष्टि जनाउँदै आचार्यले गत शुक्रबार पार्टी कार्यालयमै आमरण अनशन सुरु गर्नुभएको थियो । गत मंगलबार संस्थापन पक्षका महिलाहरूले जबर्जस्ती पार्टी कार्यालयबाट निकालेपछि उहाँ ओम अस्पतालमा भर्ना भई अनशनलाई निरन्तरता दिँदै आउनुभएको थियो ।
७ दिनसम्म अनशन बस्दा पनि अध्यक्ष राजेन्द्र लिङदेनले वास्ता नगरेको असन्तुष्ट महिला नेतृहरूको आरोप छ । आचार्यको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि उनीहरूले पशुपति शम्शेर राणासँग पहल गर्न आग्रह गरेका थिए । राणा हिजो साँझ ५ बजे अस्पताल पुगेर अनशन तोडाएका हुन् ।
अनशन तोडाउने क्रममा एक सम्झौतापत्रमा हस्ताक्षरसमेत गरिएको छ । सम्झौतापत्रमा राणासहित पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री डा. धवलशम्शेर राणा र कार्यसम्पादन समिति सदस्य निरञ्जन थापाले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्रमा आठ बुँदे सहमति उल्लेख छ । जसअनुसार नानीमैया आचार्यलाई राप्रपाको महामन्त्री बनाउने, चम्पा अधिकारीलाई केन्द्रीय सदस्य तथा कार्यसम्पादन समिति सदस्यमा मनोनित गर्ने र आगामी प्रदेशसभा निर्वाचनमा बागमती प्रदेशबाट खस आर्यतर्फ एक नम्बर क्लस्टरमा राख्ने सहमति भएको छ ।
यस्तै, केन्द्रीय सदस्य पवित्रा सुब्बालाई कार्यसम्पादन समितिमा र घ्यूकुमारी बस्नेतलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने पनि सहमतिपत्रमा उल्लेख छ । कथंकदाचित निर्वाचन सरेमा पार्टीको समानुपातिक सूचीमा पुनर्विचार गर्ने विषय पनि समेटिएको छ ।
यी सम्झौताका बुँदाहरू एक हप्ताभित्र कार्यान्वयन हुने शर्तमा आफूले अनशन तोडेको नानीमैया आचार्यले बताउनुभएको छ । सम्झौताबारे राप्रपा संस्थापन पक्षबाट भने अहिलेसम्म औपचारिक प्रतिक्रिया आएको छैन ।
