काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले समानुपातिक प्रणालीअन्तर्गत नाम फिर्ता लिएका पाँच जनाको ठाउँमा नयाँ उम्मेदवारको नाम पूर्ति गरी निर्वाचन आयोगमा पेश गरेको छ ।
एमाले स्रोतका अनुसार धादिङका लक्ष्मणकुमार शर्मा, इलामकी सरस्वती राई, रौतहटकी सरस्वती कुमारी, मकवानपुरका मेम्बरबहादुर लो र बैतडीका महादेव भट्टलाई समानुपातिक बन्दसूचीअन्तर्गत विभिन्न क्लस्टरबाट उम्मेदवार बनाइएको हो ।
यसअघि पाल्पाकी हिरुसरा राना, नुवाकोटका विजय लोप्चन तामाङ, रौतहटकी अंशु झा, सोलुखुम्बुका डुफकुमार बास्तोला र बझाङका लालबहादुर रावलले आफ्नो नाम फिर्ता लिएका थिए ।
त्यसबाहेक, सुर्खेतका बालाराम शर्माले प्रारम्भिक सूचीमै रहन अस्वीकार गरेपछि उनको सट्टामा पहिल्यै अर्को नाम निर्वाचन आयोगमा पठाइसकिएको एमालेले जनाएको छ ।
यसैगरी राष्ट्रियसभा सदस्यका उम्मेदवार रहेका झापाका सोमनाथ पोर्तेल र कैलालीकी लीलाकुमारी भण्डारीले पनि समानुपातिकतर्फको उम्मेदवारी फिर्ता लिएका थिए । उनीहरूको स्थानमा दैलेखकी सत्यदेवी खड्का र दोलखाका टेकबहादुर घतानीको नाम आयोगमा पेश गरिएको थियो ।
एमालेले निर्वाचन कानुनअनुसार बन्दसूची संशोधन गर्दै समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने गरी नाम पठाइएको जनाएको छ ।
