२ माघ, काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले नेपाली कांग्रेसको आधिकारिकता विवादका विषयमा निर्वाचन आयोगले संविधान, ऐन र कानुनको परिधिमा रहेर विधिसम्मत निर्णय गर्ने बताएका छन् ।
आधिकारिकता दाबी गर्दै कागजात बुझाउन निर्वाचन आयोग पुगेको देउवा पक्षका नेताहरुसँगको छलफलमा प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोग कुनै पनि विषयमा विधि र प्रक्रियाबाहिर नजाने स्पष्ट पारेका हुन् ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोलीले कांग्रेसको वैधानिकतामा कुनै विवाद नरहेको दाबी गर्दै ‘विशेष महाधिवेशन’ का नाममा भएका गतिविधिलाई पार्टीले नचिन्ने भन्दै आयोगको ध्यानाकर्षण गराएको थियो ।
त्यसको जवाफमा प्रमुख निर्वाचन आयुक्त भण्डारीले भने, “निर्वाचन आयोगले संविधान, ऐन र कानुनको सीमाभित्र रहेर विश्लेषण गर्छ । विधि र प्रक्रियाबाहिर गएर आयोगले निर्णय गर्दैन । निर्वाचन कार्यतालिकाअनुसारका काममा तपाईँहरु सहभागी हुनुहुनेछ भन्ने आयोगको विश्वास छ ।”
यसअघि विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा सहितको टोलीले पार्टी विवरण अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको छ । उक्त निवेदनमा आगामी निर्वाचनमा पार्टीका उम्मेदवारको मनोनयनपत्रमा विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको हस्ताक्षर रहने लगायतका विवरण समावेश गरिएको छ ।
गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा पुस अन्तिम साता काठमाडौंमा विशेष महाधिवेशन सम्पन्न भएको थियो । उक्त महाधिवेशनले थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको दाबी गरिएको छ । तर देउवा पक्षले सो विशेष महाधिवेशनलाई अवैधानिक भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
कांग्रेसको आधिकारिक नेतृत्वसम्बन्धी विवाद निर्वाचन आयोगको निर्णयपछि मात्रै स्पष्ट हुने देखिएको छ ।
