२ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले आफूहरु नै पार्टीको आधिकारिक नेतृत्व भएको दाबी गर्दै निर्वाचन आयोगमा कागजात बुझाएको छ । आज कार्यवाहक सभापति पूर्णबहादुर खड्का नेतृत्वको टोली निर्वाचन आयोग पुगेर आवश्यक कागजात पेस गरेको हो ।
गत पुस २७ गतेदेखि माघ १ गतेसम्म गगन थापा पक्षले विशेष महाधिवेशन आयोजना गरी थापाको सभापतित्वमा नयाँ कार्यसमिति चयन गरेपछि कांग्रेसभित्र आधिकारिकता विवाद चुलिएको छ । देउवा र थापा पक्ष दुवैले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा छुट्टाछुट्टै निवेदन दिएका छन् । आयोगले ती निवेदनमाथि अध्ययन तथा छानबिन भइरहेको जनाएको छ ।
यसै सन्दर्भमा आज निर्वाचन आयोग पुग्ने देउवा पक्षको टोलीमा कार्यवाहक सभापति खड्कासहित नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला, रमेश लेखक, डा. मिनेन्द्र रिजाल, एनपी साउद, सुजाता कोइराला लगायत सहभागी थिए ।
कागजात बुझाउनुअघि कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशनलाई लोकतन्त्रमाथिको षडयन्त्रको संकेतका रूपमा व्याख्या गरेका थिए । प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिक प्रणालीको बन्दसूची बुझाइसकेको र राष्ट्रिय सभा निर्वाचनका उम्मेदवारी दर्ता भइसकेको अवस्थामा अर्को पक्षले कांग्रेसको आधिकारिकता दाबी गर्नु गम्भीर विषय भएको उनको भनाइ थियो ।
‘यो नेपालको संविधान, लोकतन्त्र र राजनीतिक परिवर्तनमाथिको गम्भीर षडयन्त्रको संकेत हो,’ खड्काले भने, ‘त्यही षडयन्त्रको ठूलो संकेतका रूपमा निर्वाचन आयोगमा आएर केही व्यक्तिहरूले हामी कांग्रेसको दाबी गर्न आयौं भन्ने कुरा सञ्चार माध्यमबाट जानकारी पायौं।’
निर्वाचन आयोगमा केन्द्रीय समितिका पदाधिकारी, जिल्ला सभापतिहरु, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो । कांग्रेसको आधिकारिक नेतृत्व कसको हुने भन्ने विषय निर्वाचन आयोगको निर्णयपछि मात्रै स्पष्ट हुने देखिएको छ ।
