काठमाडौं । ‘सबै तहका सरकार, सबै नागरिकको तयारीः भूकम्प उत्थानशील नेपाल, अबको जिम्मेवारी’ भन्ने नारासहित आज काठमाडौंको नयाँ सडकस्थित भूगोल पार्कमा २८औँ भूकम्प स्मृति सभा सम्पन्न भएको छ ।
वि.सं. १९९० साल माघ २ गते तथा त्यसपछिका विनाशकारी भूकम्पबाट भएको क्षतिबाट सिकेर आगामी पुस्तालाई सुरक्षित बनाउने उद्देश्यका साथ प्रत्येक वर्ष माघ २ गते भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । २०५५ सालदेखि नियमित रूपमा मनाउन थालिएको यो दिवसले विगतका गल्ती नदोहोर्याउने प्रतिबद्धता पनि स्मरण गराउँछ ।
कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री ओमप्रकाश अर्यालले भूकम्पीय क्षति घटाउन पूर्वतयारी संयन्त्रलाई बलियो बनाउनु आवश्यक रहेको बताउनुभयो । उहाँले अन्तरसरकारी समन्वय बढाउँदै स्थानीय सरकारका प्रयासलाई संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो ।
“आपसी अभ्यास र सिकाइले क्षमता बढ्छ,” उहाँले भन्नुभयो, “नागरिक सचेतना र उत्थानशील सहरका आधारभूत सूचकको कार्यान्वयनमा निरन्तर काम गर्नुपर्छ ।”
काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले समुदाय नै विपद्का बेला पहिलो उद्धारकर्ता हुने बताउँदै समुदायको क्षमतालाई विपद् पूर्वतयारी, खोज उद्धार, पुनःस्थापना र पुनर्लाभको आधार बनाउनुपर्ने धारणा राख्नुभयो ।
“महानगरलाई विपद् उत्थानशील सहर बनाउन अन्तरसरकारी समन्वय, ज्ञान र सिपको आदानप्रदान तथा एकीकृत योजना अनिवार्य छ,” उहाँले भन्नुभयो ।
महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले अब क्षतिको सम्झनामा मात्र सीमित नभई क्षति हुन नदिने प्रणाली विकासमा लाग्नुपर्ने समय आएको बताउनुभयो । उहाँले प्रतिरोधी संरचना निर्माणमा रैथाने सिपको प्रयोग गर्न सकिने उल्लेख गर्नुभयो ।
स्मृति सभामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, महानगरपालिकाका जनप्रतिनिधि, विभागीय प्रमुख तथा विपद् व्यवस्थापनमा सक्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
यस अवसरमा आगलागी, सडक दुर्घटना तथा विपद् जोखिम न्यूनीकरणमा योगदान पुर्याएका नगर प्रहरी र सुरक्षाकर्मीहरूलाई जनही २५ हजार रुपैयाँ नगदसहित सम्मान गरिएको थियो । सम्मानित हुनेमा नगर प्रहरी हवल्दार विपिन घिमिरे, जवान बिरेन्द्र शाही, पुष्पन आले मगर, सशस्त्र प्रहरी हवल्दार आइतसिंह तामाङ र जवान जसबिर शाह तेली रहेका छन् ।
काठमाडौँ महानगरपालिकाले आज दिउँसो १ बजे खुला मञ्चमा मूल समारोह आयोजना गर्ने जनाएको छ । कार्यक्रममा विपद् पूर्वतयारी, खोज तथा उद्धारसँग सम्बन्धित साधन, उपकरण, प्रविधि र सेवाको प्रदर्शन गरिनेछ ।
विश्वमानचित्रमा भूकम्पजन्य जोखिमका दृष्टिले नेपाल ११औँ स्थानमा रहेको तथ्य पनि स्मरण गराइएको थियो ।
