काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले गगन थापा समूहले पार्टीको आधिकारिकता दाबी गर्दै भ्रम सिर्जना गरेपछि आफूहरू आज निर्वाचन आयोग गएको बताउनुभएको छ ।
कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित १३५ केन्द्रीय सदस्य आयोग पुगेको उहाँले जानकारी दिनुभयो ।
सञ्चारकर्मीसँग कुरा गर्दै विश्वकर्माले भन्नुभयो, “उहाँहरूको दाबी निरर्थक छ । विशेष महाधिवेशन पार्टीले आह्वान गरेकै छैन । विशेष महाधिवेशन आह्वान गर्ने अधिकार सभापति र केन्द्रीय समितिलाई मात्रै हुन्छ । उहाँहरूले काठमाडौं जिल्ला सभापतिको अध्यक्षतामा भेला गर्नुभएको छ, त्यो काठमाडौं जिल्ला अधिवेशन हुनसक्छ ।”
उहाँले माग गर्ने बेलामै नियमित वा विशेष भनेर उल्लेख भएको र सोही मागअनुसार पार्टीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाइसकेको स्पष्ट पार्नुभयो ।
कांग्रेसभित्र पछिल्लो समय नेतृत्व र महाधिवेशनको विषयलाई लिएर आन्तरिक विवाद चर्किंदै गएको छ ।
