दमक । लुम्बिनी प्रदेश सरकारले माघे संक्रान्ति तथा थारु समुदायको माघी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ ।
प्रदेश राजपत्रमा २०८१ चैत २१ गते प्रकाशित सूचनाअनुसार माघे संक्रान्ति तथा माघ पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको थियो । सोही निर्णयअनुसार आज प्रदेशभर सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लोकबहादुर सुनारले जानकारी दिनुभयो ।
माघी पर्व विशेषगरी थारु समुदायले नयाँ वर्षका रूपमा मनाउने महत्वपूर्ण सांस्कृतिक पर्व हो । यस अवसरमा विभिन्न स्थानमा सांस्कृतिक कार्यक्रम, परम्परागत खानपान तथा पारिवारिक जमघट हुने गर्दछ ।
प्रदेश सरकारले विविध जातजाति तथा समुदायका सांस्कृतिक पर्वलाई सम्मान गर्दै सार्वजनिक बिदा दिँदै आएको छ ।
