२ माघ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाहले देशको विकासका लागि लोकप्रिय नाराभन्दा इमानदार नेतृत्व र दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको बताएका छन् ।
२७ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै शाहले राष्ट्र निर्माणको नयाँ यात्रामा अघि बढ्ने संकेत गरेका हुन् ।
आगामी फागुन २१ गते हुने उपनिर्वाचनमा झापा क्षेत्र नं. ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा रहेका शाहले आफ्नो इन्जिनियरिङ पृष्ठभूमि र अनुभवलाई राजनीतिसँग जोड्दै देश बदल्ने संकल्प व्यक्त गरेका छन् ।
२०७२ सालको विनाशकारी भूकम्पपछि आफूले सिभिल इन्जिनियरका रूपमा काभ्रेमा मात्रै करिब २५ सय घर निर्माण गरेको स्मरण गर्दै शाहले गोरखा लगायत देशका ३५ भन्दा बढी जिल्लामा काम गर्दा धेरै अनुभव बटुलेको बताएका छन् ।
‘नेपालजस्तो भूकम्पीय जोखिम भएको देश केवल सिभिल इन्जिनियरिङको दृष्टिकोणबाट मात्रै बन्दैन,’ शाहले भनेका छन्, ‘भौगोलिक बनोटसँगै विविध समाजलाई सँगसँगै अघि बढाउनुपर्छ।’
यही बुझाइका कारण आफू भारत गएर ‘स्ट्रक्चरल इन्जिनियरिङ’ अध्ययन गरी विदेशमा बस्ने अवसर त्यागेर स्वदेश फर्किएको उनले उल्लेख गरेका छन् ।
काठमाडौँ महानगरपालिकाको नेतृत्व सम्हाल्दा शब्दभन्दा कामलाई प्राथमिकता दिएको दाबी गर्दै शाहले स्थानीय तहले चाह्यो भने जनताको सुविधाका लागि धेरै काम गर्न सकिन्छ भन्ने प्रमाणित भएको जिकिर गरे । महानगरमा सुरु भएका सुधार र पारदर्शी प्रणालीलाई अब राष्ट्रिय स्तरमा विस्तार गर्ने समय आएको संकेत पनि उनले गरेका छन् ।
आफ्नो आगामी राजनीतिक यात्राबारे स्पष्ट पार्दै शाहले भनेका छन्, ‘हामी राजनीतिमा आउनुको मूल उद्देश्य नै नेपाललाई सुरक्षित, दिगो र व्यवस्थित बनाउने हो।’
उनले देशलाई अब अल्पकालीन निर्णय र लोकप्रिय नाराको सट्टा जनताको विश्वास जित्ने शासन व्यवस्था र इमानदार नेतृत्व आवश्यक रहेको बताएका छन् ।
झापा–५ बाट निर्वाचन लड्ने चर्चालाई थप बल पुग्ने गरी शाहले ‘अब राष्ट्र निर्माणको यात्रामा अघि बढ्ने समय आएको’ उल्लेख गरेका छन् । उनले यस अभियानलाई कुनै एक व्यक्तिको मात्र नभई सुरक्षित भविष्य चाहने सबै नेपालीको साझा अभियानका रूपमा चित्रण गरेका छन् ।
