२ माघ, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षका नेता–कार्यकर्ताहरु निर्वाचन आयोग पुगेका छन् । विशेष महाधिवेशनमार्फत गगन थापा पार्टी सभापतिमा चयन भएपछि उत्पन्न आधिकारिकता विवादको छानबिन भइरहेको बेला देउवा पक्ष आयोग पुगेको हो ।
देउवा पक्षका नेता कल्याण गुरुङका अनुसार केन्द्रीय समिति पदाधिकारी, जिल्ला सभापतिहरु, भ्रातृ संस्था तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको टोली आयोग पुगेको हो । “हामी आफ्ना कुरा राख्न निर्वाचन आयोग आएका छौं,” गुरुङले भने ।
गत पुस २७ गतेदेखि माघ १ गते बिहानसम्म चलेको विशेष महाधिवेशनले गगन थापालाई कांग्रेस सभापतिमा चयन गरेको थियो । त्यसपछि देउवा पक्ष र थापा पक्ष दुवैले आफू आधिकारिक भएको दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
दुवै पक्षबाट परेको निवेदनमाथि आयोगले छानबिन प्रक्रिया अघि बढाएको जनाएको छ । कांग्रेसको आधिकारिक नेतृत्व कसको हुने भन्ने विषय आयोगको निर्णयपछि मात्रै टुंगो लाग्ने देखिएको छ ।
