काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादी र संयुक्त जेनजी आन्दोलनबीच सर्वपक्षीय सहमति र अन्तरिम सरकार गठनका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने सहमति भएको छ।
आज काठमाडौंमा नेकपा माओवादीका अध्यक्ष नेत्रविक्रम चन्द विप्लव र संयुक्त जेनजी आन्दोलनका संयोजक मिराज ढुङ्गानाले ४ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति अनुसार जेनजी विद्रोहले उठाएका मागहरू पूरा गर्न दुवै पक्ष संयुक्त रूपमा आन्दोलन र सङ्घर्ष गर्नेछन्। साथै, आन्दोलन र जनताको चाहनाअनुसार संविधान संशोधन, स्थिर सरकारको निर्माण, भ्रष्टाचारविरुद्ध विशेष न्यायिक निकाय गठन तथा राज्यको अग्रगामी पुनर्संरचनाका लागि संयुक्त रूपमा सङ्घर्ष गर्ने प्रतिबद्धता जनाइएको छ।
दुवै पक्षले वर्तमान राजनीतिक अवस्थाले जनआकांक्षा सम्बोधन गर्न नसकेको निष्कर्ष निकाल्दै वैकल्पिक राजनीतिक मार्ग र साझा आन्दोलनमार्फत परिवर्तनको दिशामा अघि बढ्ने बताएका छन्। सहमतिले आगामी दिनमा संयुक्त आन्दोलनलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
