सुर्खेत । पाटेबाघको आक्रमणबाट एक साताभित्र सुर्खेत र सल्यानमा तीन जनाको मृत्यु भएपछि निकुञ्ज आसपासका बासिन्दामा त्रास फैलिएको छ।
गत पुस २३ गते सुर्खेतको भेरीगङ्गा नगरपालिका–५ गेरवानीकी ५७ वर्षीया गङ्गा सारुको पाटेबाघको आक्रमणबाट मृत्यु भएको थियो। त्यसैगरी, पुस २६ गते सोही क्षेत्रसँग सीमा जोडिएको सल्यानको कालीमाटी गाउँपालिका–७ की धनसरी रावतको पनि पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो।
प्रहरीका अनुसार पुस २९ गते घट्टामा पिठो पिस्न गएका कालीमाटी–८ का ६५ वर्षीय चन्द्रबहादुर खप्तडीमाथि पाटेबाघले आक्रमण गर्दा उनको पनि मृत्यु भयो। जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीले कालीमाटी र भेरीगङ्गाका केही क्षेत्र बाँके र बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएकाले घाँसदाउरा तथा दैनिकीका काममा जंगल जानेहरू बाघको जोखिममा पर्ने गरेको बताए।
एक साताभित्रै तीन जनाको ज्यान गएपछि स्थानीयमा त्रास बढेको कालीमाटी–७ का वडाध्यक्ष मित्रलाल रिजालले बताए। बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रबाट आएको बाघका कारण स्थानीय बासिन्दा दैनिकीका कामसमेत गर्न डराइरहेको उनको भनाइ छ।
जिल्लास्थित डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन अधिकृत टेकबहादुर रावलका अनुसार उक्त बाघले दुईवटा घरपालुवा गाईगोरु पनि मारेको छ। मानिस तथा पशुमाथि निरन्तर आक्रमण हुन थालेपछि डिभिजन वन कार्यालयले पुस ३० गते बाँके राष्ट्रिय निकुञ्जलाई पत्राचार गर्दै बाघलाई नियन्त्रणमा लिने वा आवश्यक परे मार्ने आदेश जारी गरेको छ।
“स्थानीय तह र बासिन्दाको अनुरोधपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ र नियमावलीअनुसार सिफारिस समितिले पाटेबाघ नियन्त्रण वा मार्ने आदेश दिएको हो,” वन अधिकृत रावलले बताए। आदेश कार्यान्वयनका लागि विशेषज्ञ टोली परिचालन गर्न बाँके राष्ट्रिय निकुञ्जलाई आग्रह गरिएको उनले जानकारी दिए।
