१ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरूको ज्यान अझै पनि जोखिममा रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमालेसँग आबद्ध नेताहरूलाई लक्षित गर्दै धम्की, मुद्दा र आक्रमणको क्रम रोकिएको नभएको दाबी गरे। उनले केही समूहले खोजी–खोजी एमाले नेताहरूको घरमा आगो लगाउनेजस्ता गतिविधि गरिरहेको बताए।
‘आज पनि ज्यान जोखिममै छ। अहिले मुद्दा लगाउँछु, भोलि लगाउँछु भनिरहेकै छन्। खोजीखोजी घरमा आगो लगाइरहेका छन्। एमाले भयो भने घरमा आगो लगाउँछु भनेका होइनन्, आगो लगाइसकेका छन्,’ अध्यक्ष ओलीले भने, ‘अहिले पनि अवस्था सजिलो छैन।’
उनले आगजनी गर्ने र सरकारलाई अपदस्त गराउने गतिविधिमा संलग्नहरू खुलेआम र गर्वका साथ हिँडिरहेको आरोप लगाए। यस्तो अवस्थाले लोकतन्त्र र राजनीतिक स्थायित्वमाथि चुनौती थपिएको उनको भनाइ थियो।
अध्यक्ष ओलीले पार्टी नेतृत्वमा हिजो जस्तै आज पनि त्यागको भावना कायम रहेको उल्लेख गर्दै परिवर्तनका लागि त्याग अपरिहार्य हुने बताए। ‘बिना त्याग संसार परिवर्तन हुँदैन। मेहनत, बलिदान र निष्ठा आवश्यक छ। आदर्श र उद्देश्यप्रति हिजो पनि निष्ठा थियो, आज पनि छ,’ उनले भने।
उनको भनाइले मुलुकको वर्तमान राजनीतिक परिवेश अझै पनि अस्थिर र चुनौतीपूर्ण रहेको संकेत गरेको छ।
