काठमाडौं।
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समिति नै पार्टीको वैधानिक नेतृत्व भएको दाबी गर्दै गगन थापा पक्ष आज निर्वाचन आयोगमा जाने भएको छ।
बुधबार मध्यरातमा सम्पन्न विशेष महाधिवेशनले गगन थापालाई सभापति निर्वाचित गर्दै नयाँ केन्द्रीय कार्य समिति चयन गरेको थियो। अब पार्टीको विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा जाने तयारी भइरहेको महामन्त्री गुरुराज घिमिरेले जानकारी दिए।
यसअघि मंगलबार विशेष महाधिवेशन पक्षले पार्टी विधानअनुसार विशेष महाधिवेशन भइरहेको र शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्य समिति भंग भइसकेको लिखित जानकारी निर्वाचन आयोगमा गराइसकेको थियो। त्यसको भोलिपल्ट देउवा पक्षले गगन थापा र विश्वप्रकाश शर्मालाई निष्कासन गरिएको विवरण आयोगमा पठाएको थियो।
निर्वाचन आयोगमा विशेष महाधिवेशनसम्बन्धी जानकारीसहित प्रतिनिधिहरूको हस्ताक्षर र नागरिकतासहितको सनाखत विवरणसमेत पेश भइसकेको जनाइएको छ।
सभापति थापाले विघटित कार्य समिति होइन, विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई नै आयोगले मान्यता दिने दाबी गर्दै आएका छन्। थापा पक्षले आवश्यक परे २४८८ भन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको सनाखत गराउन निर्वाचन आयोगमा उपस्थित गराउन समेत तयार रहेको जनाएको छ।
यस विषयमा निर्वाचन आयोगको निर्णयले नेपाली कांग्रेसको भावी नेतृत्व र आन्तरिक विवादको दिशा निर्धारण गर्ने अपेक्षा गरिएको छ।
